संक्षिप्त परिचय

उकाली,ओराली गर्दै यात्रा अगाडि बढाउने क्रममा दार्चुला सदरमुदामबाट केहि अगाडि बढे अपिनाम्पा संरक्षण क्षेत्र प्रवेश गरीन्छ। पश्चिम नेपालको जैविक विविधता बोकेको अपि नाम्पा क्षेत्रलाई वि.स. २०६७ असार २८ गते अर्थात् सन् २०१० जुलाइ १२ मा अपि नाम्पा संरक्षण क्षेत्र भनेर घोषणा गरेको हो।

दार्चुला जिल्लाको १९०३ वर्ग किलो मिटर अर्थात् २१ वटा गाविसमा फैलिएको यो क्षेत्रभित्र निकै मनमोहक फाटँहरु , ताल र मन लोभ्याउने विशाल हिमालहरु रहेका छन। ५३९ मिटर देखि ७१३२ मिटरको उचाइसम्ममा रहेको यस क्षेत्रको पूर्व तर्फ बझाङ जिल्लाको सिमाना , पश्चिम तर्फ महाकाली नदिको भारतको उत्तराखण्ड जिल्लाको अन्तराष्ट्रिय सिमाना , उत्तर तर्फ चीनको स्वशासित क्षेत्र तिब्वतको अन्तराष्ट्रिय सिमाना र दक्षिण तर्फ लास्कु र नौगाड नदि सम्म फैलिएर रहेको छ।

पश्चिम नेपालमा खप्तड राष्ट्रिय निकुञ्जपछि जैविक विविधता भएको क्षेत्रका रुपमा अपिनाम्पा संरक्षण क्षेत्रलाई लिइन्छ । यस क्षेत्रभित्र भएका प्राकृतिक सम्पदा , बहुमुल्य जडिबुुटि र दुर्लभ जंगली पशुपक्षीको संरक्षण र संवद्र्धनका साथै पर्यापर्यटनको विकास गरी विद्यमान गरीबी र विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी भेगको समुच्च विकासका लागी संरक्षण क्षेत्र स्थापना भएको हो ।

यस क्षेत्र भित्र हिउँ चितुवा , घोरल , हिमाली कालो भालु , डाँफे , मुनाल , हिँउ मयुर जस्ता दुर्लभ वन्यजन्तु रहेका छन । जटामसी , यार्सागुम्बा , पाचँऔले , कुड्की , सुगन्धबाल , तालिसपत्र , लौठसल्लो , पाखनवेद , दाल चिनी , रिठ्ठा जस्ता बहुमुल्य जडिबुटी पाइन्छन । त्यसै गरी यस क्षेत्रमा अपि ९७१३२ मि०, व्यास ९६६७० मि०, गुरास ९६६४४ मि० , लिपुलेक ९५०० मि० र नाम्पा ९६७५७ मि० हिमाल अवस्थित छन । यहाँ भोटे, कामी, दमाइ, सार्की, ब्राह्मण, र क्षेत्री जातीहरुको बाहुल्यता छ।

अपिनाम्पा संरक्षण क्षेत्रमा घनाघोर हरियाली जङ्गलको बीचमा हिड्दा कहिलेकाहीँ जङ्गली जनावरसँग जम्काभेट हुने अवसरपनि जुर्छ ,त्यसैभित्रका केहि क्षेत्र ब्रह्मदह , रानीकोट , थाइसैनमा मनमोहक फाँटहरु छन । नजिकै ठूला ठूला तालहरु पनि छन । उकालो हिड्दै जाँदाको पसिना , भन्ज्याङमा चलिरहेको हावा र तालहरुको चिसोपनले छिनभरमै सुकाइदिन्छ र चिसो अनुभूति दिलाउँछ । सुस्तरी हिड्दा करिब ५ घण्टामा ब्रह्मदह क्षेत्रका फाटहरुमा पुग्न सकिन्छ।

अपिनाम्पा संरक्षण क्षेत्रमा रहेको ब्रह्मदह रानीकोट क्षेत्र धेरै गन्तव्यहरु मध्ये एक गन्तव्य हो । धेरै प्रचार प्रसारमा नआएपनि यहाँ पुग्ने मानिसहरु धेरै छन् । आन्तरिक पर्यटनका लागि प्रख्यात रहेपनि वाह्य पर्यटकहरु भने थोरै मात्रामा आएका छन् । फाँटहरु सम्म पुग्नका लागी त्यत्ति गाह्रो छैन । दार्चुला सदरमुखामबाट केही समयको अन्तरालमा पैदल यात्रा गर्नु पर्छ । करीब ४ घण्टामा हिडेर पुगिने ठाउमा यातायात पुगेको छैन । बाटो त्यति अप्ठ्यारो छैन । यात्रा सहज छ । सरकारले सडकको व्यवस्था गरी दियो भने त्यहाँ जानेहरुका लागी यात्रा छोट्टिने थियो।

अपिनाम्पा संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटकलाई सहजै रुपमा खान बस्न र यातायातको सुविधामात्र बनाउन सके त्यो संख्या बढ्ने कुरामा दुईमत छैन् । होटेल व्यवसायीहरुलाई पर्यटकहरुको लागि कसरी स्वागत गर्ने , बसोबासको कस्तो व्यवस्था मिलाउने लगायतका बिषयमा तालिमको आवश्यकता रहेको दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धाना धामीले बताइन।

त्यस्तै आन्तरिक तथा बाह्य पर्यटकलाई संरक्षण क्षेत्र भित्र आकर्षित गर्नका लागि भौतिक संरचनामै सुधार ल्याउनुपर्ने कतिपयको बुझाइ छ । संरक्षण क्षेत्र सम्म सडकको पहुँच, सहयोगीको व्यवस्था, बास तथा आवासको व्यवस्था गर्नुपर्ने दार्चुलाका एक स्थानिय त्रिलोक कुवरको भनाइ छ।

मन लोभ्याउने विशाल सुन्दर हिमाल भएको ठाउँ , शान्त वातावरण ,विभिन्न ठाउँको दृष्य सजिलै देख्न सकिने , दुर्लभ पशुपंक्षी,बहुमुल्य जडिबुटी भएको यो क्षेत्र सबैका लागी पुग्नै पर्ने एक गन्तव्य हो । यहाँका सुन्दर हरीयाली फाटँहरुमा रंगी विरंगी फुलहरु सदावहार फुली रहेका हुन्छन । यतिमात्रै नभएर देवी देउताका मन्दिरहरु पनि यँहा अवस्थित छन । यँहा कोहि घुम्ने उदेश्यले आउन्छन त कोहि पुजापाठका लागी । त्यसैले यो संरक्षण क्षेत्र मनलाइ आनन्द दिन क्षेत्रका रुपमा उत्तम मानिन्छ ।

अपिनाम्पा संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । यस क्षेत्रमा पाइने जडीबुटी,लोपोन्मूख वन्यजन्तु, प्राकृतिक सम्पदाहरु यसका मुख्य आकर्षण हुन् । दार्चुलाबाट नजिक पर्ने चिनको कैलाश मानसरोवर यात्रा तत्काल खोल्दा धेरै पक्षबाट व्यवसायीहरु, सरकार र नागरिकलाई समेत फाइदा हुनेछ । प्राकृतिक जैविक विविधताको खानी सो संरक्षण क्षेत्रको सरकारले राष्ट्रिय मिडियाका माध्यमबाट प्रचार प्रसार गर्र्न सके अझै पर्यटक भित्र्याउन सकिने देखिएको छ। यसका साथै यातायातको सहज पहुँच स्थापित हुन सकेमा पनि सो संरक्षण क्षेत्रमा आन्तरीक एवम् बाह्य पर्यटक भित्र्याउन सकिने छ।​